को होला प्रहरीको नयाँ आइजीपी ?


खबरस्टोरी संवाददाता
१४ बैशाख २०७९, बुधबार
को होला प्रहरीको नयाँ आइजीपी ?
काठमाडौं । नेपाल प्रहरीमा यही २० वैशाखबाट नयाँ नेतृत्व आउदै छ । आइजीपी शैलेश थापा क्षेत्रीको कार्यकाल १९ वैशाखमा सकिने भएकाले त्यस अगाडि नै सरकारले नयाँ आइजीपीको टुंगो लगाउने निश्चितप्रायः छ ।

भावी आइजीपीका लागि हालका एआइजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक प्रतिष्पर्धी हुन् । तीनैजना एउटै ब्याचका हुन् ।चारैजनाले आफूभन्दा अघिल्ला ब्याचका प्रहरी अधिकृतहरुलाई उछिनेर डिआइजी बनेका थिए । एआइजी बन्दा पनि अघिल्ला ब्याचका डिआइजीहरुलाई पनि उछिनेका थिए ।

सबैभन्दा पहिले विश्वराज पोखरेल, त्यसपछि सहकुल थापा एआइजीमा बढुवा भए । पछिल्लोपटक धीरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भए । चारैजना एआइजीको दरबन्दी बढाएर बढुवा भएका हुन् ।यसअघि तीन एआइजीको दरबन्दी भएकोमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एउटा एआइजीको दरबन्दी बढाएर विश्वराज पोखरेललाई बढुवा गरिएको थियो । पोखरेल आइजीपीका लागि प्रतिष्पर्धाविहिन मानिएका थिए । तर, ओलीकै पालामा एआइजीको अर्को दरबन्दी सृजना गरी सहकुल थापालाई बढुवा गरिएको थियो ।

पोखरेल र थापाबीच आइजीपीको प्रतिष्पर्धा हुने देखिएको थियो । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि तीन एआइजीको दरबन्दी थपेर धीरजप्रताप सिंह, रवीन्द्र धानुकका अलावा आइजीपी शैलेश थापाका ब्याची वसन्त पन्तलाई बढुवा गरिएको थियो । त्यसपछि सिंह र धानुक पनि प्रतिष्पर्धामा देखिए ।हालका एआइजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र वसन्त पन्त १९ वैशाखमा नै सेवानिवृत्त हुनेछन् । उनीहरु पछि वरियतामा रहेका चारजना एआइजीहरुबीच आइजीपीको दौड तिव्र भइसकेको छ ।


विश्वराज पोखरेल

नेपाल प्रहरीको आइजीपीका प्रतिष्पर्धी विश्वराज पोखरेल सेलिब्रिटी प्रहरीका रुपमा परिचित छन् । उनले डिआइजी बन्दा आफ्नो मात्र नभई अघिल्लो ब्याची प्रहरी अधिकृतहरुलाई पनि उछिनेर आइजीपीको मुख्य प्रतिष्पर्धीका रुपमा उभ्याएका थिए । त्यसपछि एआइजी बन्दा पनि दरबन्दी नै सृजना गरेर अगाडि बढ्न सकेका थिए ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पोखरेल एआईजीमा बढुवा भएका थिए । पुर्व स्थायी घर भएका पाखरेललाई एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसँग निकट मानिन्छ  ।

एसएसपी हुँदा महानगरीय प्रहरी परिसर काठमाडौंमा बसेका पोखरेलले महत्वपूर्ण ठाउँमा कमाण्ड सम्हालेका थिए ।


सहकुल थापा

नेपाल प्रहरीमा सालिन प्रहरी अधिकृतका रुपमा परिचित सहकुल थापाको स्थायी घर भक्तपुर हो । 

अपराध अनुसन्धान महाशाखामा रहेर चर्चामा आउने कार्यहरु गरेका थिए । डिआइजी हुँदा सीआइबीमा बसेका थापा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफू र आफ्ना ब्याचीका प्रतिष्पर्धीलाई उछिनेर अगाडि बढ्न सके । डिआइजी बढुवामा पनि उनले छलाङ मारे ।

एआइजीको दरबन्दी नै खडा गरेर उनलाई बढुवा गरिएको थियो । त्यसपछि आइजीपीमा विश्वराज पोखरेलका लागि उनी नै चुनौती बन्न सके । थापाले विगतमा जिल्ला प्रहरी कार्यालय चितवनमा बसेर पनि काम गरेका थिए । उनी आइजीपीको दौडमा सक्रिय देखिएका छन् ।


धीरजप्रताप सिंह

सुदूरपश्चिम बझाङ स्थायी घर भएका धीरजप्रताप सिंह आइजीपीका मुख्य प्रतिष्पर्धी देखिएका छन् । उनी गत वर्षको चैत्रमा मात्र बढुवा भएका हुन् । एआइजीको तीनवटा दरबन्दी थपेर उनलाई बढुवा गरिएको हो ।

एसएसपी हुँदा अपराध अनुसन्धान महाशाखाको कमाण्ड सम्हालेका । त्यहाँ चर्चामा आउने कामहरु गरका थिए  । यद्यपी १२ बर्षे जनयुद्ध कालमा तात्कालीन विद्रोही पक्ष माओवादीका नाममा आम सर्वसाधारणहरु माथि अमानवीय व्यवहार तथा कैयौनलाई बेपत्ता पारेको आरोप समेत उनीमाथि लागेको थियो । सोही विषयलाई लिएर उनी कारवाहीमा समेत परेका थिए ।

डिआइजी बढुवापछि सिंहले प्रदेश नम्बर २ को कमाण्ड सम्हालेका थिए । । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उनले सीआइबीको कमाण्ड सम्हालेका थिए  एआइजी बढुवापछि पनि सिंह सीआइबीकै निर्देशक छन् । सरकारले सीआइबीमा डिआइजीको कमाण्ड रहने व्यवस्था गरेकोमा एआइजीको दरबन्दी बढाएपछि एआइजीको कमाण्ड रहने व्यवस्था गरेबाट उनी त्यहाँ रहेका हुन् । धीरज प्रताप सिंह सुदूरपश्चिमकै र प्रधानमन्त्री देउवा पनि सुदूरपश्चिमको हुनुका नाताले पनि राजनितीक रुपमा सरकारको साथ रहेको देखिन्छ । 

 

रवीन्द्र धानुक

रवीन्द्र धानुक पनि सुदूरपश्चिमकै स्थायी बासिन्दा हुन् । प्रहरीभित्र कडा स्वभावका अधिकृतका रुपमा उनको परिचय छ । आफ्नो ब्याचका एआइजीमध्ये उनी चौंथो वरियतामा छन् । धानुक हालै तीन एआइजीको दरबन्दी थपिएर भएको बढुवामा तेस्रो नम्बरमा परेका हुन् ।धानुक वर्तमान अर्थमन्त्री जर्नादन शर्मानिकट मानिन्छन् । उनको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि निकटता छ ।

धानुकले महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुर दुवैको कमाण्ड सम्हालेका छन् । डिआइजी हुँदा प्रदेशको कमाण्ड समेत सम्हाले ।धानुक पनि आइजीपीको दौडमा छन् । तर, उनी चौंथो नम्बरमा भएकाले सजिलो छैन । तैपनि, उनले आशा मारेका छैनन् ।


चार एआइजी मध्येबाट एकजना आइजीपी बन्ने निश्चित नै छ । वरियतामा पहिलो रहेकाले विश्वराज पोखरेलको दाबी देखिएको छ । प्रहरी बढुवासम्बन्धी नियमावलीमा वरिष्ठतासँगै कार्यक्षमता पनि उल्लेख छ ।वरिष्ठताका आधारमा मात्र नभई कार्यक्षमताका आधारमा पनि बढुवा गरिएको विगतको अभ्यास छ । यसकारण पनि पोखरेललाई चुनौती बढेको छ । त्यसमाथि विगतमा आफ्नो ब्याचीका एक्ला एआइजी उनलाई तीनवटा प्रतिष्पर्धी थपिएको छ ।।

प्रधानमन्त्री देउवाले धीरजप्रताप सिंहलाई एआइजीको दरबन्दी बढाएर बढुवा गराउनुले भने पोखरेल र थापा दुवैमाथि चुनौती थपिदिएको छ । सिंहले बालुवाटारबाट ग्रीन सिग्नल पाइसकेको चर्चा पनि चलेको छ । वरियतामा तीन नम्बरमा रहेपनि सिंहले हालै राष्ट्रपतिबाट पदक प्राप्त गरेबाट कार्यक्षमता मूल्यांकनमा छलाङ मार्न सक्ने बुझिएको छ ।आइजीपीको प्रतिष्पर्धा तिव्र बन्दै जाँदा पोखरेल, थापा र सिंहको दौड पनि बढेको बुझिएको छ । अब हुने आइजीपी चुनावमा पनि प्रहरीको कमाण्डमा हुने हुँदा देउवाले निकै चासो लिएको बुझिएको छ । 

जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सार्मथ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ भन्ने व्यवस्था प्रहरी नियमावलीमा गरिएको छ ।

नियमावलीमा जेष्ठतालाई अगाडि राखिएपनि कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन, नेतृत्व क्षमता, प्रहरी परिचालन र प्रोत्साहनलगायतका विषय पनि समावेश छन् । विगतमा नवराज सिलवाल वरियतामा अगाडि भएपनि प्रकाश अर्यालले बाजी मारेका थिए । वरियतामा पछाडि रहेका प्रहरीहरुले बाजी मारेको इतिहासहरु धेरै छन् । देउवा प्रधानमन्त्री हुँदा त्यस्ता धेरै घटनाहरु भएका थिए ।