काठमाडौं । रुपन्देहीको सैनामैना र नवलपरासीपूर्व हुप्सेकोटमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–७ देबिटोल बस्ने ५५ वर्षीय इन्द्रबहादुर काउछाको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै बंगुर फर्ममा सरसफाई गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता, नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका–३ बस्ने ६५ वर्षीय कोशबहादुर मल्लको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । सोही गाउँपालिका–४ झ्यालबासस्थित खेतमा पानी लगाउने क्रममा बिद्युतीय पोलमा रहेको तारमा छोइएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।