किशोरी रेप प्रकरण : पाण्डेले यौन शोषण गरेको भन्दै अर्की युवती पुगिन् प्रहरीमा


खबरस्टोरी संवाददाता
९ जेष्ठ २०७९, सोमबार
किशोरी रेप प्रकरण : पाण्डेले यौन शोषण गरेको भन्दै अर्की युवती पुगिन् प्रहरीमा
काठमाडौं । मोडलिगंको बहानामा एक किशोरीमाथि बलात्कारको आरोप लागेका आरोपित कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले आफुलाई पनि यौन शोषण गरेको भन्दै अर्की यूवती पनि प्रहरीमा पुगेकी छन्। 

बलात्कारको आरोपमा शनिबार मात्रै स्वयम्भूबाट पक्राउ परेका पाण्डेविरुद्ध आइतबार उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय अर्की यूवती पनि पुगेकी हुन्।

 प्रहरी कार्यालयमा पुगेकी ती युवतीले आफू पनि पाण्डेबाट पीडित भएको र पाण्डेले आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी छन् ।सोमबार पाण्डेलाई प्रहरीले जिल्ला अदालत काठमाण्डौंमा उपस्थित गराउने भएको छ। प्रहरीले थप अनुसन्धानका लागि सोमबार म्याद लिने र मानव बेचविखन तथा ओसारपसारको मुद्दा चलाउने तयारी गरेको छ। 

यो मुद्दामा हद म्याद नहुने भएकाले प्रहरीले यही कसुरलाई मुख्य बनाउने र बन्धक बनाएको, नसालु पदार्थ खुवाएको र यौन शोषण गरेको पनि त्यही मुद्दामा खुलाउने भएको छ। 

बलात्कारको मुद्दामा एक वर्षभित्रमा उजुरी गर्नु पर्ने हद म्यादका कारण प्रहरीले अर्को विकल्प खोजेको हो। ८ वर्ष पहिले पाण्डेले यौन शोषण गरेको आरोप ती किशोरीको छ।

सुन्दरी प्रतियोगितामा सहभागी किशोरीले पाण्डेबाट यौन शोषणमा परेको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन्। उनले घटना सार्वजनिक गरेसँगै दोषीलाई तत्काल कारबाही गर्न सडकदेखि संसदसम्म आवाज उठेको छ।