पल शाह प्रकरण : छुट्टाछुट्टै दर्ता भएका निवेदन एकसाथ पेस गर्न उच्च अदालतको आदेश


खबरस्टोरी संवाददाता
१६ बैशाख २०७९, शुक्रबार
पल शाह प्रकरण : छुट्टाछुट्टै दर्ता भएका निवेदन एकसाथ पेस गर्न उच्च अदालतको आदेश
पोखरा । नावालिग गायिका बलात्कारको अभियोग खेपिरहेका अभिनेता पल शाहललाई एकसाथ निवेदन पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

 जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरले यसअघि उनलाई पुर्पक्षका लागि थुनामा राख्नू भनी आदेश दिएको थियो । सो आदेशविरुद्ध पलले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने माग गर्दै उच्चमा २ छुट्टाछुट्टै निवेदन दिएका थिए ।

 तर उच्चले ती दुवै निवेदन एकसाथ पेश गर्नू भनी आदेश गरेको हो । सुटिङक्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेमको झुठो बहानामा आफूलाई पटकपटक करणी गरेको भनी ती नावालिग गायिकाले फागुन ११ मा तनहुँमा उजुरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेपछि केही दिन फरार अभिनेता पल शाहले फागुन १५ मा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । तनहुँ र नवलपुर दुवै अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि उनी हाल जिल्ला कारागार तनहुँमा छन् ।

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा थुनछेक बहसपछि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम तत्काल पुर्पक्षका लाथि थुनामा पठाउने आदेश गरेका थिए । सो आदेश बेरितपूर्ण भएको जिकिर गर्दै प्रतिवादीले आफ्नो क्षेत्राधिकार रहेको उच्च अदालत पोखरामा आफूलाई साधारण तारेखमा राखी पाउँ भनी गत १५ चैतमा निवेदन दिएका थिए । थुनामा राख्न गरिएको सुरु जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएको र पललाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने प्रतिवादीको जिकिर छ । सो बलात्कार मुद्दामा पीडित पक्षले भने आफूलाई पलले बलात्कार नै नगरेको भनी सुरु जिल्ला अदालतमा बकपत्रमा बयान फेरेकी छिन् ।