मंगलबार सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेलगत्तै जिल्ला अदालतले बुधबार नै प्रतिवादीको बयान सकाएर बहस सुरु गरेको हो । मुद्दा दर्ता भएपछि मंगलबार नै पलसँग बयान लिइएको छ ।
घटनामा मतियारको रुपमा पेस भएका पलका म्यानेजर कृष्णप्रसाद जोशीको बयान बुधबार सकिएसँगै थुनछेक बहस सुरु भएको छ ।जाहेरवालाका तर्फबाट जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्मा, विपिनराज तिवारी, राधिका खतिवडा, दिपक रावल, किशोर सापकोटा, मोहना अन्सारी, टेकनारायण गौतम, सरिता तिवारी, विनोदप्रसाद लामिछाने, शिवराज काफ्ले लगायतले बहस गरेका छन् । त्यस्तै प्रतिवादीतर्फबाट अधिवक्ता पर्शुराम गिरी, भानुभक्त सुवेदी, कमलामोहन वाग्लेले बुधबार बहस गरेका छन् ।
वाँकी बहस बिहीबार हुनेछ । बहस सकिएर बिहीबार थुनछेक आदेश आउन सक्ने बुझिएको छ ।
नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सरकारी वकिलको कार्यालयले पलविरुद्ध मंगलबार मुद्दा दर्ता गराएको हो । १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो । सोमबार अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।
प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा पीडित बालिका १६ वर्षभन्दा कम उमेर भएकाले १२ देखि १४ वर्षसम्मको कैद सजायको र मनासिव क्षतिपूर्ति माग राख्दै मुद्दा दर्ता गरिएको छ । पलका म्यानेजर जोशीलाई आधा सजायको माग गरिएको छ । पलले बालिकालाई जबरजस्ती करणी गरेको उजुरी तनहुँ ११ फागुनमा परेको थियो । त्यसको चार दिन पछि पल तनहुँ प्रहरी समक्ष आत्मासमर्पण गर्न पुगेका थिए ।