प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा


खबरस्टोरी संवाददाता
२४ जेष्ठ २०७९, मंगलवार
प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा
काठमाडौ । सरकारले नेपाल प्रहरीमा रिक्त रहेको ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको बढुवा तथा पदस्थापनको निर्णय गरेको हो । 

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले ९ जेठमा उनीहरुको नाम बढुवाका लागि सिफारिस गरेको थियो । बढुवा हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् । 

डीआईजी सुवेदी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख छन् । यस्तै, बिसीले १ नम्बर प्रदेश प्रहरी कार्यालय र लोहनीले गण्डकी प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरिरहेका छन् । 

डीआईजी आचार्य प्रहरी प्रधान कार्यालयस्थित कार्य विभाग, कार्य निर्देशनालयमा कार्यरत छन् भने सिंह वाग्मती प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरिरहेकी छन् ।