प्रहरीमा १७ डीआईजीका लागि २७ को दौड, शक्तिकेन्द्र रिझाउदै १५ महिने जुनियर एसएसपीहरु


खबरस्टोरी संवाददाता
२९ जेष्ठ २०७९, आईतवार
प्रहरीमा १७ डीआईजीका लागि २७ को दौड, शक्तिकेन्द्र रिझाउदै १५ महिने जुनियर एसएसपीहरु
काठमाडौ । नेपाल प्रहरीमा पछिल्लो समयमा व्यापक रुपमा राजनिती हस्तक्षेप हुन थालेको छ । प्रहरीमा हुने हरेक सरुवा बढुवामा सत्ताधारी दलहरुको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अस्वभाविक चासो देखिन थालेको छ ।

प्रहरी बढुवामा वरीयता, कार्यकुशलता, व्यावसायिकतालाई प्रथम प्राथमिकतामा राखिने भनिए तापनि बढुवा सूची तयार पार्दा सम्म राजनितीक दल र नेताहरुसँगको सम्बन्ध र साठँगाठ गर्न सक्ने व्यक्ति नै अन्तत् लिस्टमा अटाँउछ, जसका कारण प्रहरी संगठनभित्रै व्यापक असन्तुष्टि देखिन थालेको छ ।

त्यसमा पनि झन शेरबहादुर देउवाको प्रधानमन्त्रीकालमा वा उनको नेतृत्वको सरकार रहेको बेला प्रहरी संगठन सबैभन्दा बढी विवादमा तानिने गरेको इतिहास नै छ । प्रतिष्पर्धामा जो–जो भए पनि बालुवाटारको र सत्तारुढ दलका शीर्ष नेताहरुको रोजाइमा पर्नेहरु नै डीआईजी बढुवामा पर्नेछन् ।

जसका लागि सत्ताधारी दलका शिर्ष नेता देखि उनका आसेपासे,आफन्तलाई  रिझाउन प्रहरी अधिकारीहरु सक्रिय हुने गर्छन्, तीनलाई रिझाउन जो सफल हुन्छ सम्भवत् वरियताक्रममा जहाँसुकै रहेतापनि उसले फड्को मार्ने निश्चित हुन्छ । जुन श्रृखला प्रहरीमा विगत केहि समयदेखि निरन्तर देखिएको छ ।

यतिबेला नेपाल प्रहरीमा ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)ले दर्ज्यानी चिन्ह लगाएसँगै रिक्त १७ नायब महानिरीक्षक (डीआईजी)मा बढुवा हुन २७ जना एसएसपी प्रतिष्पर्धामा छन् । १७ डीआईजीका लागि दुई ब्याचका एसएसपीहरू दौडमा छन् ।

२०७५ माघमा बढुवा भएका १३ जना एसएसपी र त्यसको १५ महिनापछि अर्थात २०७७ बैशाखमा बढुवा भएका करिब डेढ दर्जन एसएसपीबीच रिक्त डीआईजी पदका लागि प्रतिस्पर्धा देखिएको छ । 

१७ दरबन्दी रिक्त रहेकाले कम्तिमा चार जना एसएसपीले आफूभन्दा १५ महिना सिनियर एसएसपीहरुसँगै डीआईजी बन्ने अवसर पाउनेछन् ।

नेपाल प्रहरीमा २०५१ चैत तथा २०५२ साउन र मंसिरमा जागिर सुरु गरेकाहरु अहिले एसएसपी रहेका छन् । एआईजीको दरबन्दी थप नभए र बढुवामा ज्येष्ठता कायम रहे यही ब्याचबाट आगामी चैतमा प्रहरी संगठनले नयाँ आईजीपी पाउने छ ।

२०७५ माघमा १४ जना एसएसपी बनेका थिए । तीमध्ये गणेश रेग्मी सेवा अवधिका कारण अवकाश पाइसकेका छन् । पहिलो नम्बरमा सन्दीप भण्डारी, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा उमेशराज जोशी, चौथोमा श्यामलाल ज्ञवाली, पाँचौँमा रेग्मी, छैटौँमा रामदत्त जोशी, सातौँमा दीपक थापा, आठौँमा मीरा चौधरी, नवौँमा बुद्धि गुरुङ र १० औँ नम्बरमा रहेर किरण बज्राचार्य बढुवा भएका थिए ।

२०७७ बैशाखमा बढुवा भएका १९ जनामध्ये वीरेन्द्रकुमार बस्याल, नवराज भट्ट, हृदय थापा, राजकुमार बैदवार र मुकेशकुमार सिंहले अवकाश पाइसकेका छन् । एसएसपीहरू जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञविनोद पोखरेल र चन्द्रकुवेर खापुङ किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना डीआईजीको प्रतिस्पर्धामा छन् ।

पहिलो लटमा रहेका सबै १३ जना बढुवामा परेतापनि बाँकि ४ वटा रिक्त पदका लागि १५ महिना जुनियर एसएसपीहरु लागिपरेका छन्, ।