संखुवासभामा निर्माणाधीन सडकमा पहिरो जाँदा पुरिएर दुई मजदुरको मृत्यु


खबरस्टोरी संवाददाता
१८ जेष्ठ २०७९, बुधबार
संखुवासभामा निर्माणाधीन सडकमा पहिरो जाँदा पुरिएर दुई मजदुरको मृत्यु

काठमाडौँ । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको छ। आज बिहान ११ बजे चैनपुर–नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुख्खा पहिरोले  दुई जनाको ज्यान गएको हो। 

मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।

 चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ खटिएको छ ।