सोमबार बिहान सर्वोच्च अदालतको पूर्ण इजलास नम्बर १ मा ठुलो हुल थियो । इजलासको बाहिरको बोर्डमा कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की र डा.कुमार चुडाललाई तोकिएको थियो ।
इजलासबाहिर निजी कानुन व्यवसायी, प्रहरी, र सादा पोसाकमा रहेका अधिंकाश प्रहरी अधिकारीहरु सहित पत्रकारहरु जुन इजलासमा धिरजप्रताप सिंहलाई आईजीपी बनाउने सरकारको निर्णयविरुद्ध परेको रिटको पेसी तोकिएको थियो। अवकाश भइसकेका तीन डीआईजीको रिट पनि सँगै राखिएकाले रिट निवेदक नै चार जना थिए। अवकाश भइसकेका तीन डीआईजी र एआईजी विश्वराज पोखरेलले रिट दायर गरेका थिए। तीनवटा रिटको सुनुवाइपछि यी रिटको पालो थियो ‘घ’ नम्बरमा। अरु रिटको सुनुवाइ हुँदै एआईजी विश्वराज पोखरेल, पूर्वडीआईजी घनश्याम अर्याल र ईश्वरबाबु कार्की इजलासमा उपस्थित भइसकेका थिए। अर्का निवेदक पूर्वडीआईजी प्रकाशजंग कार्की भने सर्वोच्च गएनन्।
यसअघि जेठ १७ गते पनि इजलासमा न्यायाधीश चुडाल थिए। विश्वम्भरप्रसाद श्रेष्ठ र उनको संयुक्त इजलासमा त्यो दिनको पेसी तोकिएको थियो। तर सुनुवाइ हुन सकेन। कारण थियो अवकाश भइसकेका तीन डीआईजीको रिट पनि लगाउमा राखियो। अर्थात् त्यसको पनि सँगै सुनुवाइ गर्ने गरी तोकियो। त्यो रिटको असर एआईजी पोखरेलको रिटमा पर्यो। म्याद तामेली र लिखित जवाफ आइनसकेकाले डीआईजीको रिटमा सुनुवाइ गर्न मिल्ने अवस्था भएन।
बिदा सकिएको र अवकाशको मिति पनि नजिकिँदै जाँदा विश्वराजको तनाव बढ्दै छ । जेठ २४ मा बिदा सकिएका उनले थप बिदा पाएनन्। धिरजलाई आईजीपी मानेर उनी कार्यालयमा हाजिर हुन तयार छैनन्। अदालतले पछि डीआईजीको रिटमा ७ दिनभित्र म्याद तामेल गर्न र ३ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिँदै अर्को सुनुवाइ जेठ ३० गतेका लागि सार्न नपाउने गरी तोकेको थियो।
सोमबार सर्वोच्चमा एआइजीपी विश्वराजको हाउभाउ अरु दिनको भन्दा बेग्लै थियो । जारी रिट डीआईजीको रिटको सुनुवाइमा पनि आईजीपी धिरजप्रताप सिंहको आलोचनाले पोखरेललाई राहत मिलेको थियो,जहाँ धिरजप्रताप सिंहले प्रहरी संगठनमा गरेको चलखेल पुर्ण गतिविधिले आफुहरु अन्यायमा परेको भन्दै पुर्व डिआइजीपीका अधिवक्ताहरुले बहस चलाएका थिए ।
तीन डीआईजी पक्षका कानुन व्यवसायीले कनिष्ट सिंहलाई त्यतिबेला एआईजी बनाउनु नै गलत भएको जिकिर उनीहरुले इजलास सामु गरे ।डीआईजी पक्षका कानुन व्यवसायीले उनीहरुको अवकाश भइसके पनि एआईजी सरहको सुविधा दिनु पर्ने माग गरेका थिए ।
सोमबार अन्त्यमा डेढ घण्टा विश्वराज पोखरेलको रिटमा बहस सुरु भएको छ। अझै आधा दिन उनी पक्षकै कानुन व्यवसायीले बहस गर्न इजलासमा समय माग गरेका छन्। पोखरेल पक्षका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बहस थालेका छन् ।सोमबार बहस नसकिएपछि यो रिट हेर्दाहेर्दैमा राखिएको छ। ठिक ५ बजे इजलास अधिकृतले भने, ‘अब असार ५ गते आइतबार अर्को सुनुवाइ हुन्छ।’
एकाएक पोखरेल सर्वोच्च प्रांगणमा पुगे लगत्तै त्यहाँ रहेका केहि कानुन व्यवसायी, पत्रकार र पारिवारीक भेटघाटसँगै फोनमा गफिदै अदालतबाट निस्के ।