सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गरेको अभियोगमा पक्राउ


खबरस्टोरी संवाददाता
२८ जेष्ठ २०७९, शनिबार
सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियो/तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २० वर्षीया भोज कुमारी दाहाल रहेका छन् । 

अश्लिल भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेकोले बिकेशलाई धुलिखेल नगरपालिका–६ बाट बुधबार र महिलाको तस्वीर दुरुपयोग गरी पीडितको चरित्र हत्या गरेकोले भोज कुमारीलाई बिहीबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  

उनीहरूउपर जिल्ला अदालत काठमाडौंको आदेशले ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।