सशस्त्र प्रहरीद्वारा सप्तकोशी नदीमा हाम फालेका व्यक्तिको उद्धार


खबरस्टोरी संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार
सशस्त्र प्रहरीद्वारा सप्तकोशी नदीमा हाम फालेका व्यक्तिको उद्धार
सप्तरी।  सप्तकोशी नदीमा हाम फालेका एक पुरुषलाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी करिब ७ : १५ मिनेटतिर हाम फालेका ४१ वर्षी बुधुन्द्रप्रसाद लिम्बुको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।

लिम्बु झापाको कमल गाउँपालिका–५ का हुन् । सप्तकोशी पुलको बीचको नोजबाट उनी नदीमा हाम फालेका थिए । 

लगत्तै उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेका हुन् ।

उद्धार गरी लिम्बुलाई घर पठाइएको खड्काले जानकारी दिए ।