काठमाडौं महानगरपालिका–३२ भाटभाटेनीमा प्रदेश ३–०२–००५ प ५८७७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रे उग्रतारा जनागल गाउँपालिका–७ बस्ने २२ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर मंहाकालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकस्थित सडकमा ना.६ ख २८०८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने रौतहट दुर्गाभवानी गाउँपालिका–२ घर भएका ५० वर्षीय अमिर दासको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ग्वार्को ग्लोबल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ जर्के पुलस्थित सडकमा बा.७४ प ७४८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रे मण्डनदेउपुर नगरपालिका–६ तल्लो बजार बस्ने ४० वर्षीय इन्द्रबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै, सिन्धुली, तिनपाटन गाउँपालिका–५ नक्कलेस्थित सडकमा बागमती प्रदेश ०१–०२६ च ०४५६ नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी ६० मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा कमलामाई नगरपालिका–७ माझिटार बस्ने ३२ वर्षीया रुपा मगर, तिनपाटन गाउँपालिका–९ आम्बोटे बस्ने ५२ वर्षीय रामजी भण्डारी र हाल नाम, थर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी, धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ शितल बजारमा ना.६ ख ९२५ नम्बरको बसले प्रदेश ३–०२–०१० प ३९८५ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा स्कुटर चालक गोरखा आँपपिपल बस्ने ३० वर्षीय बिक्रम थापामगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको उपचारको लागि राजमार्ग अस्पताल मलेखुतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ बनस्पतिस्थित सडकमा ना.१८ प १२२६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने राजकुमार पाख्रिनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।