स्युचाटारमा बसभित्र सहचालकको हत्या गरेर भागेको आरोपमा एक किशोर पक्राउ


खबर स्टोरी
१४ भाद्र २०७८, सोमबार
स्युचाटारमा बसभित्र सहचालकको हत्या गरेर भागेको आरोपमा एक किशोर पक्राउ

काठमाडौंको स्युचाटारमा रोकेर राखेको बसभित्र सह–चालकको हत्या गरेर भागेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–६ घर भएका १८ वर्षीय सुरेश परियार छन् ।

२०७८ साउन २८ मा साँझ साढे ६ बजे रोकिराखेको बा.४ख ४२१ नम्बरको बसमा १९ वर्षीय रमेश खत्रीको हत्या गरिएको थियो । मृतक चक्रपथ परिक्रमा गर्ने सोही बसका सहचालक हुन् । हत्या आरोपीलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले चितवनको पोखरा बसपार्कबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

सिन्धुपाल्चोकको चौतारा घर भएका खत्रीलाई सुरेशले ढुंगाले हिर्काएर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

ज्याकेट भित्र ढुंगा बेरेर हिर्काएर उनले हत्या गरेका थिए । हत्यापछि मृतकको कपडा र मोवाइल बोकेर उनि फरार भएका थिए । उनलाई ज्यान सम्बन्धि कसुरमा म्याद लिएर महानगरीय प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।