त्रिभुवन विमानस्थलको सर्चमा बम नभेटिएपछि हवाइ उडान सुचारु


खबरस्टोरी संवाददाता
२१ बैशाख २०७९, बुधबार
त्रिभुवन विमानस्थलको सर्चमा बम नभेटिएपछि हवाइ उडान सुचारु
काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखेको सूचनापछि बन्द भएको आन्तरिकतर्फको हवाइ उडान पुनः सुचारु भएको छ । विमानस्थलमा बम फेला नपरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका छन् । 

खोजतलासको कतै पनि बम फेला नपरेको भन्दै त्रासपूर्ण वातावरण नभएको पनि उनले बताए ।  ‘केही छैन । तै पनि अपरेसन हुँदै छ । भित्र केही देखिएन । कसले र कसरी फोन गरेर बम छ भन्यो ? अनुसन्धान भइरहेको छ’ एसएसपी कुँवरले भने । 

बिहान १० बजेतिर विमानस्थलको एउटा ल्यान्डलाइन फोनमा फोन गरेर नचिनेका मानिसले आफू मुस्लिम समुदायको मान्छे भन्दै विमानस्थल परिसरमा बम राखेको र डिस्पोज गर्न चुनौती दिएको प्रहरीले जनाएको छ । 

त्यसपछि विमानमा चढ्ने क्रममा रहेका यात्रुहरूलाई ओरालेर बाहिर निकालिएको थियो । तर, केही शंकास्पद बस्तु फेला नपरेपछि करिब डेढ घन्टापछि विमान उडान सुरु भएको छ ।