काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी धिरजप्रताप सिंहलाई बढुवा गरेको छ ।
सिंह बढुवा भएसँगै सिस्टमले सिनियर एआइजी विश्वराज पोखरेलले आफैँले एआइजीको दर्ज्यानी चिन्ह लगाइदिएका धिरजप्रताप सिंहलाई स्यालुट गर्नुपर्ने भएको छ। एकै पटक संगठनमा प्रवेश गरे पनि पोखरेल सहकुल थापा बढुवा अवधिको आधारमा सिंहभन्दा वरिष्ठ हुन्। तर प्रहरी नियमावलीमा एआइजीमध्ये वरिष्ठता,कार्यकुशलता, कमान्ड क्षमताको आधारमा प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्ने व्यवस्था छ।
एकै पटक बढुवा हुँदा बरीयतामा अगाडि-पछाडि भएकै आधारमा तल्लो वरीयताकालाई आइजिपी नियुक्तिको निर्णय अदालतले उल्ट्याएको थियो। सिंह अन्य २ जनासँगै एक महिना अगाडि बढुवा भएका हुन्। पोखरेल करिब १६ महिना अगाडि र थापा करिब ९ महिना अगाडि बढुवा भएका हुन्।
एआइजी पोखरेल, सहकुल बहादुर थापा र रबिन्द्रबहादुर धानुक २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका हुन्। पोखरेल २०७७ मङ्सिर २५ एआइजिमा बढुवा भए। त्यो बेला एआइजीको पद थपिएको थियो। थापा पनि उसरी नै एआइजीको एक पद थपेर २०७८ असार २४ मा एआईजी भएका थिए । सरकारले एआइजीको तीन दरबन्दी थपेर २०७८ चैत १७ मा सिंहसहित तीन जनालाई बढुवा गरेको थियो।
पहिलो बरियताका नवराज सिलवाल छाडेर तेस्रो बरियताका जयबहादुर चन्द नियुक्ति गर्दा अदालतले उल्टाएको थियो। सिलवाल पनि कार्य सम्पादन मूल्याङ्कन फारम किर्तेको विवादमा परेपछि दोस्रो बरियताका प्रकाश अर्याल आइजिपी नियुक्त भएका थिए।
सिलवाल विवादमा प्रधानमन्त्री पुष्पकमल दाहाल थिए भने गृहमन्त्री विमलेन्द्र निध। सत्ता सहयोगी कांग्रेस थिए। अहिले प्रम देउवा र सहयोगी प्रचण्ड छन्।