दुई महिलासहित ५ जनाको मृत्यु


खबरस्टोरी संवाददाता
३० असार २०७९, बिहीबार
दुई महिलासहित ५ जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न ठाउँमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार पाल्पामा एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ भने दुई महिलासहित अन्य चार जना विभिन्न ठाउँमा मृत फेला परेका छन् । 

प्रहरीकाअनुसार, पाल्पाको रैनादेबी छहरा गाउँपालिका–३ झिरुबास बस्ने २७ वर्षीय बसन्त आलेको आफ्नै घरदेखि करिब डेढ सय मिटर टाढा पोखरीमा डुबेर बुधबार बिहान मृत्यु भएको छ ।  

उता, ताप्लेजुङको फुङलिङ नगरपालिका–३ पिपलडाँडा बस्ने ५३ वर्षीया भिमा कामी सोही ठाउँस्थित मकैबारीमा बुधबार मृत अवस्थामा फेला परेकी छन् भने मोरङको कानेपोखरी गाउँपालिका–४ नारायण चोक बस्ने ३६ वर्षीय रोहित कार्की आफ्नै घरको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

यता, कास्कीको अन्नपूर्ण गाउँपालिका–७ थर्कुनास्थित जंगलभित्र पानीको छहरामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष  बुधबार मृत अवस्थामा फेला परेका छन् भने सिरहाको नरहा गाउँपालिका–५ कटनियास्थित धान खेतमा हाल नाम, थर, वतन नखुलेकी करिब ६५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयको बुधबार जारी प्रेस नोटमा उल्लेख छ ।