उच्च अदालतले सिद्धबाबालाई सफाइ दिने फैसला उल्टाईदिएपछि


खबरस्टोरी संवाददाता
४ जेष्ठ २०७९, बुधबार
उच्च अदालतले सिद्धबाबालाई सफाइ दिने फैसला उल्टाईदिएपछि
विराटनगर । महिलामाथि बलात्कारको आरोपमा मुद्दा खेपेका सिद्धबाबा रामकृष्णचार्य श्री वैष्णव कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालतको फैसला उच्च अदालतले उल्टाइदिएको छ ।

मंगलबार उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको फैसला बदर गरेको हो ।

फैसलामा जिल्लामा पेस भएका प्रमाणहरू पुनः बुझेर फैसला गर्न जिल्लालाई आदेश दिइएको छ ।इजलासले पीडित र पीडक पक्षबीच भएको भ्वाइस कलको परीक्षण गर्न, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र गर्न र पीडित र पीडक पक्षका साक्षीको बकपत्र गर्न तथा प्रमाणहरू बुझेर पुनः इन्साफ गर्न आदेश दिएको छ ।

गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो । सुनसरी प्रहरीमा उजुरी दिएपछि गत मंसिरको पहिलो साता गिरी विराटनगरस्थित एक निजी अस्पतालमा भर्ना भएका थिए ।

बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका गिरी र वादी सरकारी वकिलको कार्यालय दुवै जिल्ला अदालतको आदेश कानुनसम्मत नभएको दाबी गर्दै उच्च अदालत विराटनगर पुगेका थिए ।मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ ले थुनछेक वा तोकिएको धरौटी, जमानत वा ब्याङ्क जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदनका लागि अदालतमा निवेदन दिन सक्ने कानुनी व्यवस्था छ ।