कांग्रेस विभाजन उन्मुखः बैशाखमा महाधिवेशन गर्ने बहुमतको निर्णय


खबरस्टोरी संवाददाता
१८ पुष २०८२, शुक्रबार
कांग्रेस विभाजन उन्मुखः बैशाखमा महाधिवेशन गर्ने बहुमतको निर्णय

काठमाडौं । नेपाली कांग्रेस अन्ततः विभाजन उन्मुख बनेको छ । पुसमा तय गरिएको नियमित महाधिवेशनको कार्यतालिका खारेज गर्दै केन्द्रीय कार्य सम्पादन समितिको बैठकले वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने बहुमतल निर्णय गरेको छ । शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको यो निर्णयप्रति महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राखेका छन् । 

विशेष परिस्थितिका कारण भन्दै केन्द्रीय समितिको कार्यकाल जेठ मसान्तसम्म लम्ब्याउने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्ताव पनि बहुमतले पारित गरेको छ । महामन्त्रीद्वयसँगै नेताहरु अर्जुननरसिंह केसी, फरमुल्ला मन्सुर र उमा रेग्मीले कार्यवाहक सभापति खड्काले राखेको प्रस्तावप्रति फरक मत राखेका थिए । तर बहुमतको बलमा कार्यकाल लम्ब्याउने र विधान विपरित बैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय स्वीकार्य नहुने महामन्त्री थापाले चेतावनी दिएका छन् । उनले पुसमै विशेष महाधिवेशन हुने भन्दै नेता कार्यकर्तालाई काठमाडौंमा आउन तयार रहन अपिल गरेका छन् । 

पार्टी विधानको धारा १७ को उपधारा २ अनुसार ४० प्रतिशतभन्दा बढी (५४ प्रतिशत) महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित माग आएकाले विशेष महाधिवेशन अनिवार्य भएको थापाको भनाई छ । 

उनले असोज २९ गते दर्ता भएको मागलाई बेवास्ता गर्दै नियमित महाधिवेशन वैशाखमा सार्नु विधानको उल्लङ्घन भएको दाबी गरे । पार्टीको विधान अनुसार नै केन्द्रीय कार्यालयले विशेष महाधिवेशन गर्ने थापाले घोषणा गरेका छन् । 

यसअघि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशनको विकल्प अघि सारेका थिए । भृकुटीमण्डपको हल पुस २७–२८ का लागि बुकिङसमेत गरिएको थियो । महामन्त्रीद्वयको हर्कत अस्वीकार्य हुने भन्दै संस्थापन पक्षले कारबाही गर्न समेत नेतृत्वलाई दबाब दिएका थिए । पार्टी नेतृत्वले ५४ प्रतिशत सदस्यको हस्ताक्षर लत्याएको भन्दै विशेष महाधिवेशन पक्षधर रुष्ट बनेका छन् । महामन्त्री थापाले अझै पनि मिलाएर लैजाने भन्दै पार्टी नफुटाउने आश्वासन दिएका छन् । केन्द्रीय कार्य सम्पादन समितिको निर्णय पारित भइसकेपछि पनि पुन? केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने अडानमा थापा छन् । त्यसो हुन नसके विधान बमोजित आफूहरु अघि बढ्ने उनको चेतावनी छ । 

संस्थापन पक्ष भने विशेष महाधिवेशनले पार्टी फुटाउने खतरा रहेको तर्क गर्दै आएको छ । कार्यवाहक सभापति खड्काले विधानको धारा ४३ अनुसार कार्यकाल एक वर्ष थप्न सकिने प्रावधान प्रयोग गरेको बताएका छन् ।

पुसभित्र नियमित महाधिवेशन नभएकाले अब ९० दिनको समयसीमाभित्र विशेष महाधिवेशन गर्नैपर्ने खड्काको तर्क छ । 

अझै एक–दुई दिन समय बाँकी रहेकाले सभापति शेरबहादुर देउवालगायत नेतृत्वले विधानको भावना बुझ्ने थापाको विश्वास छ । बैठकमा बहुमतले प्रस्ताव पास भए पनि फरक मत राख्नेहरूले यसलाई विधानविपरीत भनेका छन् । सह–महामन्त्री फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व र नीतिसहित निर्वाचनमा जानुपर्ने बताउँदै गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् । कांग्रेसको यो विवादले आगामी फागुनको आम निर्वाचनअघि पार्टी एकतामा गम्भीर संकट निम्त्याएको छ ।